भक्तपुर नगरपालिकामा नेमकिपाको फराकिलो अग्रता कायमै
पुष्करराज बुढाथोकी
भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको अग्रता कायमै छ ।
भक्तपुर नगरपालिकामा अहिलेसम्म १८ हजार ५५६ मतगणना भइसकेको छ । तीमध्ये नेमकिपाका नगर प्रमुखमा सुनील प्रजापतिले ११ हजार ४१६ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले २ हजार ३६, नेकपा एमालेका रवीन्द्र लाछिमस्युले एक हजार ३४४, नेकपा माओवादी केन्द्रका तुलसीभक्त सुवालले ३८८ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा नेमकिपाका रजनी जोशीले ११ हजार ५९५, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका ओमचरण अमात्यले एक हजार ४५२, नेकपा माओवादी केन्द्रका इन्द्रमाया सुवालले ४५३, नेकपा एमालेका रञ्जना चापागाईँ खर्बुजाले एक हजार ४५२ मत प्राप्त गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाका १, २, ३ वटा वडामा नेमकिपाको प्यानलै विजयी भएको छ । सिङ्गो नपामा नेमकिपाले एकल जित दोहोर्याउने सहज आङ्कलन गरिसकिएको छ ।
५ बर्ष अघिको स्थानीय निकायको निर्वाचनमा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सवै जना जितेको गरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यो पटक पनि भक्तपुर नगरपालिकामा यही सफलता दोहोर्याउने निश्चित देखिएको छ ।
भक्तपुरमा १० वटा वडाहरू रहेका छन् । यीमध्ये वडा नं १ र ३ नेमकिपाका लागि यस पटक सबैभन्दा कठिन थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका सम्पूर्ण दलहरू एक भई नेमकिपालाई हराउन भनी संयुक्त गठबन्धन भएको थियो । तर परिणाम अनुसार नेमकिपा सबै राष्ट्रिय पार्टीहरूको संयुक्त गठबन्धनलाई फराकिलो मत अन्तरले पराजित गरी यी दुवै वडामा प्यानलसहित विजयी हासिल गरिसकेको छ । यो हिसाबले बाँकी सबै वडामा नेमकिपाले सहजै अत्याधिक बहुमतले जित्ने निश्चित जस्तै छ ।
नेमकिपाको मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशीले पाएको मत पनि निकै फराकिलो अन्तर छ ।
भक्तपुर नगरपालिकामा ७५ दशमलव ७१ प्रतिशत मत खसेको थियो । यहाँ ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो








प्रतिक्रिया राख्नुहोस्