तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धन जनमतको अपमान गर्ने प्रवृत्ति विरुद्ध हो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभएको छ । 

पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताउनुभयो । 

वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट गर्नुभयो । 

व्यवस्था जोगाउने सर्तमा पाँच दलका बीचमा गठबन्धन भएको उल्लेख गर्दै उहाँले गलत प्रचार गर्ने प्रवृत्तिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले इमानदार भएर एक अर्कालाई सहयोग गरौँ । राष्ट्रिय जनमोर्चाले देशभर नै सहयोग गर्छ । गठबन्धनभन्दा प्रतिगमन बलियो छ । त्यस कारण संयुक्त प्रतिवाद गरौँ ।” 

उहाँले राजनीति व्यवसाय नभएकाले इमानदार भएर जनताको सेवा गर्नुपर्ने र जनतामा पैदा भएको वितृष्णालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष केसीले बुद्धिमत्तापूर्ण तरिकाले जन पक्षीय उम्मेदवारलाई विजयी गराउन र प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । 

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन मेट्रो रेल चलाउनुपर्ने, करको भार कम गर्नुपर्ने र फोहोर मैलाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले गणतन्त्रको संस्थागत गर्दै सङ्घीय प्रणालीको प्रवर्द्धन गर्न, सबै तहमा सुशासन कायम गर्दै पारदर्शी रुपमा सेवाग्राहीलाई सुविधा दिने ध्येयका साथ काम गर्ने प्रतिबद्धताका साथ आफू निर्वाचनमा होमिएको बताउनुभयो ।

सुशासन कायम गरेको खण्डमा देश समृद्ध हुने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहनुभएका नेता श्रेष्ठले जनताको भावना विपरीत जानेहरू पराजित हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button