जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपालको जित
काठमाडौँ । आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो । जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी–ट्वान्टी खेल भने वर्षाले रद्द भएको थियो ।
नेपालको जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले अविजित रहँदै ८७ रनको अर्ध शतकीय इनिङ खेले । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे ।
जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए । मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाए । इनोसेन्ट कियाले १४ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १/१ विकेट लिए ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो।
अब नेपालले पाहुना टोलीसँग तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्