तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित बनाउन आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सबैसँग आग्रह गरेको छ ।

file photo

आयोगले आज ललितपुरमा पत्रकार सम्मेलन गरी सबै मतदाताले निर्बाध रुपमा मतदान केन्द्रसम्म पुगी आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण बनाउन राजनीतिक दल, उमेद्वार, तथा निर्वाचनसँग सरोकार राख्ने सबैसँग आग्रह गरेको हो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको प्रक्रिया सुरु भएसँगै निरन्तर रुपमा अनुगमन गरिरहेको र केही घटना बाहेक हाल सम्मका गतिविधिहरू शान्तिपूर्ण र उत्साहपूर्ण रहेको आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनुभयो ।

अध्यक्ष मगरले निर्वाचनमा महिला उमेद्वारको सङ्ख्या कमी हुनु, समावेशी समूहबाट न्यून उमेद्वारले मात्रै मनोनयन दर्ता गर्नु, मनोनयन दर्ता तथा प्रचारप्रसारका क्रममा राजनैतिक दलहरूले आफ्नो प्रतिबद्धता विपरीत बालबालिकालाई प्रयोग गर्नु, सीमान्तकृत वर्गलाई लक्षित गरी मतदाता शिक्षाका कार्यक्रमहरू नहुनु, राजनीतिक दलका नेताहरूबाट एक–अर्काप्रति घृणायुक्त तथा द्वन्द्व सिर्जना गर्ने अभिव्यक्ति आउनु जस्ता घटनाप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।

मानवअधिकार आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन पूर्व, निर्वाचनको अवधि तथा निर्वाचन पश्चात् गरी तीन चरणको छुट्टाछुट्टै कार्यक्रम बनाई अनुगमन गरिरहेको छ ।

मानवअधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमनका लागि सात वटै प्रदेशमा उच्च स्तरीय अनुगमन टोली गठन गरेको र हालसम्म विभिन्न ३० जिल्लाको स्थलगत अनुगमन गरेको जनाएको छ ।

यस्तै मतदान हुने दिन अर्थात् वैशाख ३० गतेका लागि विभिन्न ४७ वटा टोली गठन गरी सबै जिल्लाका मतदान केन्द्रहरूको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button