तपाईँ सुन्दै हुनुहुन्छः

गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, १८ घाइते

काभ्रे । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोक्किँदा पाँचको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

file photo

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटा सुमो बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–११ स्थित बढुवेशीमा आपसमा ठोक्किँदा टाटा सुमोमा सवार पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ बस्ने वर्ष ४४ का प्रमीला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १८ जना भएको र उहाँहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै गाडी नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button