श्रम मन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आज मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
पुत्रजयास्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ ।
मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षा गार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो ।
उहाँले मलेसियाका गृहमन्त्री जैनुदिनसँग नेपाली सुरक्षा गार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गर्नुभएको छ ।
नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्नुहुँदै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताउनुभएको थियो ।
नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरुबीच छलफल भएको थियो ।
नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उहाँहरुबीच छलफल भयो । नेपालबाट सुरक्षा गार्डमा जानेहरूमा पूर्व सेना वा पूर्व प्रहरीका साथै आधारभूत तालिम लिएका युवाहरू छन् । पूर्व गोर्खा ब्रिटिस सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो ।
छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ । भेटवार्तामा कार्यवाहक राजदूत मोतीबहादुर श्रीस पनि सहभागी हुनुहुन्थ्यो ।
यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाडौँमा गर्ने सहमति पनि भएको छ ।
मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्