नियमनको उद्देश्यसहित ‘विज्ञापन आचारसंहिता’ ल्याउने सरकारको तयारी
काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ ।
विज्ञापन बोर्डद्वारा आयोजित ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुई दिने तालिमको शुभारम्भ गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउन सरकारले आचारसंहिता ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अप्रमाणित, भ्रामक तथा पर्याप्त जानकारीविना विज्ञापन बनाइएको हुन्छ, त्यसलाई व्यवस्थित गर्नका लागि सरोकारवालाको सुझावका आधारमा विज्ञापन आचारसंहिता ल्याउन लागिएको हो, यसले विज्ञापन क्षेत्रलाई व्यवस्थित गरेको छ ।” सचिव अर्यालले बोर्डको नीति र विनियमावलीलाई समयअनुसार संशोधन गरी थप पारदर्शी र प्रतिस्पर्धी बनाइने बताउनुभयो ।
नेपाल विज्ञापन सङ्घ (आन) का वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठले विज्ञापन वितरण सम्बन्धी प्रस्ट नीति बनाइ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा बोर्डले अहिलेसम्म गरेका कार्य, विज्ञापनको अवधारणा र अहिलेको प्रवृत्ति, विज्ञापनको इतिहास र चुनौती, मिडिया र विज्ञापन, विज्ञापन आचारसंहिता, विज्ञापन उद्योग र महत्त्व लगायतका विषयमा प्रशिक्षण हुने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्