पर्सामा ४१ जनाको उम्मेदवारी फिर्ता
बीरगंज । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्साका १४ पालिकामा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार मध्ये ४१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले आज साँझ उपलब्ध गराएको तथ्याङ्क अनुसार पर्सा जिल्लामा १४ पालिकामा उम्मेदवारी दर्ता गराउने २ हजार ६ सय ७० जना मध्ये ४१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार १ जना सहित वडा नम्बर २ का वडाध्यक्ष, २ कै महिला सदस्य र ४ का वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी छिपहरमाई गाउँपालिकाको वडा नम्बर १ र २ का वडा सदस्यले नामावली फिर्ता लिएका छन् ।
यता धोबिनी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार एक जना सहित वडा नम्बर ४ का वडाध्यक्षले नाम फिर्ता लिएका छन् ।
त्यसैगरी सखुवा प्रसौनी गाउँपालिकामा वडा नम्बर ३ का वडाध्यक्ष र वडा नम्बर १ का महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
पर्साकै कालिका माई गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष, वडा नम्बर ५ का वडा सदस्य वाट उम्मेदवारी फिर्ता लिएका छन् भने जिराभवानी गाउँपालिकाबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका १ जना, वडा नम्बर ५ का वडा सदस्य र महिला सदस्य गरी ३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यता ठोरी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार एक जनाले नामावली फिर्ता लिएका छन् । पटेर्वा सुगौलीमा वडा नम्बर ५ का अध्यक्ष सहित एक सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् भने पर्सागढी नगरपालिकामा वडा नम्बर ७ का वडाध्यक्ष उम्मेदवारी एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी पोखरीया नगरपालिकामा वडा नम्बर ५ की महिला सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । यता बहुदरमाई नगरपालिकामा मेयर पदका उम्मेदवार एक जना, वडा नम्बर ४ का अध्यक्ष एक जना, वडा नम्बर १ का वडा सदस्य र दलित महिला सदस्य गरी २ जना, वडा नम्बर १ का खुल्ला सदस्य र वडा सदस्य गरी २ जना, वडा नम्बर ५ मा वडा सदस्य एक जना र वडा नम्बर ६ मा ५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी वीरगन्ज महानगरपालिकामा वडा नम्बर ६,७,८ र २२ का ३ जना वडाध्यक्षका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् भने ८ बाट उम्मेदवारी दिएका वडा सदस्य २ जना, दलित महिला सदस्य १ जना, वडा नम्बर १८ बाट सदस्यमा उम्मेदवार दिएका एक जना र २२ बाट सदस्यमा उम्मेदवार दिएका थप एक जना गरी पर्साबाट ४१ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्