तपाईँ सुन्दै हुनुहुन्छः

द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन काउन्सिलको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त सामग्री तथा द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न/नगराउनुहुन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अपिल गरेको छ ।

स्थानीय तह निर्वाचनको सङ्घारमा विभिन्न उम्मेदवार लक्षित गरेर त्यस्ता सामग्री सम्प्रेषण भएका गुनासा, उजुरी आइरहेको सन्दर्भमा काउन्सिलले यस्तो अपिल जारी गरेको हो ।

‘पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोप–प्रत्यारोप, दुष्प्रचार हुने, चरित्र हत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटना बढिरहेका छन् भने कुनै राजनीतिक दलका नेताहरूले अर्को राजनीतिक दल तथा दलका नेताहरू विरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिई सञ्चार माध्यमहरूबाट सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको छ’ काउन्सिलका उप प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराबाट हस्ताक्षरित अपिलमा भनिएको छ ।

त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चार माध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरी कारबाही गरिएको समेत काउन्सिलले जनाएको छ ।

पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा प्रेस काउन्सिलले विशेष अनुगमन गरिरहेको छ । विशेष अनुगमन प्रारम्भ भएयता कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्‍याउने, चरित्र हत्या हुने गरी अतिरञ्जित एवं दुराशययुक्त सामग्री सम्प्रेषण भएको निष्कर्ष काउन्सिलको छ ।

‘निर्वाचनको बेलामा गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वेषपूर्ण) अभिव्यक्तिहरू सञ्चार माध्यमलाई प्राप्त हुन सक्दछन् । गलत, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्ने र द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान नदिने, कसैको पक्ष वा विपक्ष हुने गरी र राजनीतिक दल वा उम्मेदवारको चरित्र हत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चार माध्यम सदैव सजग हुनुपर्दछ । तसर्थ दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न/नगराउनुहुन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल पुनः अपिल गर्दछ ।’ अपिलमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button