एन्फा बैठक तत्काल बोलाउन माग
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का तीन उपाध्यक्षले कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका छन् ।
राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबिच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै तीन उपाध्यक्षले एन्फाको कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ, उपाध्यक्ष द्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले अत्यन्त संवेदनशील विषयमा तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले यथाशीघ्र बैठक बोलाउन अनुरोध गरेका हुन् ।
बन्द प्रशिक्षणको क्रममा खेलाडीले प्राप्त गर्ने सुविधाको विषयमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र राष्ट्रिय टिमका सिनियर १० खेलाडीबिच विवाद चुलिएको छ । मुख्य प्रशिक्षकले सिनियर खेलाडी रोहित चन्दलाई बन्द प्रशिक्षणबाट निकालेका छन् भने अन्य ९ सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेर हिँडेका छन् ।
१० खेलाडीलाई निकालेका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् ।
मङ्गलवार क्याम्प छाडेका खेलाडीको ठाउँमा अलमुताइरीले विकेश कुथु, जर्ज प्रिन्स कार्की लगायतका १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । थपिएका खेलाडीले बुधवार बाट नै प्रशिक्षण सुरु गरेको बताइएको छ । विकेश भने प्रशिक्षणमा सामेल थिएनन् ।








प्रतिक्रिया राख्नुहोस्