तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला नपाका एमालेका बागी उम्मेदवार महतोद्वारा उम्मेदवारी फिर्ता

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका निवर्तमान मेयर एवं नेकपा एमालेबाट बागी उम्मेदवारी दिनु भएका हरिनारायण महतोले आज उम्मेदवारी फिर्ता लिनु भएको छ । 

पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो । उहाँसँग छलफलका लागि केन्द्रले बोलाएर उचित स्थान दिने बताएपछि हालका लागि मेयर पदको उम्मेदवारी फिर्ता लिएको जानकारी दिनु भएको छ । 

उक्त क्षेत्रबाट नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित रहनु भएका शत्रुधन महतो नेकपा एकीकृत समाजवादीमा गएपछि सो ठाउँमा हरिनारायण महतोलाई उम्मेदवार बनाउनका लागि सो निर्णयमा पार्टी पुगेको श्रोतले जानकारी दिएको छ ।  

यस पटक मिथिला नगरपालिकाको मेयर पदका लागि राजाराम महतोलाई पार्टीले टिकट दिएपछि हरिनारायण महतोले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनु भएको थियो । 

नेकपा एमाले नगर कमिटीबाट हरिनारायण महतोलाई मेयरको उम्मेदवारका  लागि एकल सिफारिस गरेको थियो । तर, टिकट हाईकमाण्डवाट राजाराम महतोले पाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्नु भएको थियो । 

राजाराम पूर्व रियलस्टेट व्यवसायी रहनु भएको छ । २०७४ को निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उहाँले चुनाव लड्नु भएको थियो । तर जित नेकपा एमालेका उम्मेदवार हरिनारायण महतोको भएको थियो । 

राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि एमालेमा प्रवेश गराएका थिए । निवर्तमान मेयर हरिनारायण महतो नेकपा एमालेका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला सह इन्चार्ज रहनु भएको छ । 

मेयर भन्दा अगाडी उहाँ ढल्केवर गाउँपालिकाको अध्यक्षको रुपमा पनि कामकाज गरिसक्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button