गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ। रिट निवेदनमा बिहीबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको छ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण हिजोका लागि तय भएको थियो । हिजो सरकारी पक्षका वकिलहरु बसह गर्नु भएपनि नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।
गभर्नर अधिकारीले बिना जानकारी र बिनास्पष्टीकरण आफूमाथि छानबिन गर्न भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
यसअघि, न्यायाधीश हरिप्रसाद फुयाँलको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा सुनुवाइ भइरहेको छ।
मन्त्रिपरिषद्को गत चैत २५ गतेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्