सिवाइसी नेपालको आइपिओको बाँडफाँट
काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ ।
कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २२ लाख पाँच हजार ६३३ जनाले दुई करोड ४५ लाख २० हजार १४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये तीन हजार २७२ आवेदन रद्द भएको र बाँकी २२ लाख दुई हजार ३६१ योग्य आवेदकमध्ये ३६ हजार ९४८ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी आठ कित्ता शेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोला प्रथाबाट थप आठ जनालाई बाँडिएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा निष्कासनको पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्