तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा १ हजार १ सय ६२ जनाको उम्मेदवारी दर्ता

बागलुङ । स्थानीय तह निर्वाचनका लागि बागलुङमा १ हजार १ सय ६२ जनाको उम्मेदवारी परेको छ । ६ गाउँपालिका र चार नगरपालिकाको जनप्रतिनिधिका लागि १ हजार १ सय ६२ जनाको उम्मेदवारी परेको हो ।

प्रमुख/अध्यक्षका लागि ५६ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा दश जना, सबैभन्दा थोरै बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकामा ३/३ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख/अध्यक्षका लागि बागलुङ नगरपालिकामा ९ जना, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र तमानखोला गाउँपालिकामा ६/६ जनाको उम्मेदवारी परेको छ । बडिगाड गाउँपालिकामा ५ जना, ताराखोला र निसीखोला गाउँपालिकामा ४/४ जना, काठेखोला र बरेङ गाउँपालिकामा ३/३ जनाको उम्मेदवारी परेको छ ।

उपप्रमुख/उपाध्यक्षमा ४२ जनाको उम्मेदवारी परेको छ । उपप्रमुख/उपाध्यक्षमा सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ६ जना र सबैभन्दा कम तमानखोला गाउँपालिकामा दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । काठेखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा ४/४ जनाको उम्मेदवारी परेको छ । जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिका तथा बरेङ गाउँपालिकामा ५/५ जनाको उम्मेदवारी परेको छ ।

बागलुङमा ८५ वडा अध्यक्षका लागि २ सय ६९ जनाको उम्मेदवारी परेको छ । बागलुङ नगरपालिकामा ४९, काठेखोला गाउँपालिकामा २१, गलकोट नगरपालिकामा २८, जैमिनी नगरपालिकामा २९, ढोरपाटन नगरपालिकामा ३८, तमानखोला गाउँपालिकामा १७, निसीखोला गाउँपालिकामा १५ र बडिगाड गाउँपालिकामा २८ तथा बरेङ गाउँपालिकामा १३ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सदस्यका लागि १ सय ९३ जना, दलित महिला सदस्यका लागि १ सय ८१ जना र खुला सदस्यका लागि ४ सय २१ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठेखोला गाउँपालिकामा १ सय जना, गलकोट नगरपालिकामा १ सय ३३, जैमिनी नगरपालिकामा १ सय ५, ढोरपाटन नगरपालिकामा १ सय ६४ र तमानखोला गाउँपालिकामा ८८ जनाले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, ताराखोला गाउँपालिकामा ७२, निसीखोला गाउँपालिकामा १ सय १८, बागलुङ नगरपालिकामा १ सय ९४, बडिगाड गाउँपालिकामा १ सय २४ र बरेङ गाउँपालिकामा ६४ जनाको उम्मेदवारी दर्ता भएको हो । जिल्लाभर नगरपालिका तथा गाउँपालिका प्रमुख–उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरी ४ सय ४५ जना निर्वाचित हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button