तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा उपमहानगरपालिकाको नेतृत्वका लागि उम्मेदवारी दर्ता

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको नेतृत्वका लागि नेकपा एमाले र सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हेटौँडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमाले र गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । 

नेकपा एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यको उम्मेदवारी एकसाथ दर्ता गराएको छ । नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यस्तै सत्तारुढ गठबन्धन दलले पनि आजै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा मिना कुमारी लामा र उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

सत्तारुढ दलबिचको सहमतिमा नेकपा एकीकृत समाजवादीबाट लामा मेयर पदमा उम्मेदवार बन्नुभएको हो भने नेपाली काँग्रेसबाट बानियाँ उपमेयर पदमा उम्मेदवार बन्नुभएको हो । 

सत्तारुढ गठबन्धनबिच हेटौँडा उपमहानगरको वडा तहमा पनि तालमेलको प्रयास भएको छ । कतिपय वडामा गठबन्धनबिच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन । 

निर्वाचन कार्यालयका अनुसार भोलि दाबी विरोधको समय निर्धारण गरिएको छ । बुधवार र बिहीबार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button