तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् खपत बढाउन नेपाली सेनालाई उर्जामन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच विद्युत्को विकास तथा खपतका विषयमा छलफल भएको थियो । 

मन्त्री भुसालले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्नुभयो । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गरौँ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।”

उहाँले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गर्नुभयो । आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “विद्युत् खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत् खपत हुँदा हाम्रो पुँजी बाहिर जाँदैन ।” 

मन्त्री भुसालले नेपाली सेनाले पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।  

प्रधानसेनापतिले नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्ण रूपमा लागू गर्दै लैजाने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ ।” महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न सुरु गरिसकेको जानकारी दिँदै भन्नुभयो, “मैले विद्युतीय गाडी नै चढ्छु । आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।”

वातावरण संरक्षण र देशको अर्थतन्त्रमा टेवा दिन विद्युत् खपत बढाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उहाँले नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत् विकासमा लगानी गर्न सक्ने धारणा राख्नुभयो । उहाँले जलविद्युत् परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । 

छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो । त्यसअघि ऊर्जामन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत् खपतका विषयमा विभिन्न चरणमा छलफल गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button