तपाईँ सुन्दै हुनुहुन्छः

ओझेलमा महिला उम्मेदवार, प्रमुख पदमा पुरुष कै मात्र चर्चा !

सांकेतिक तस्बिर

तनहुँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा उम्मेदवारहरूको चर्चा पनि चुलिन थालेको छ । 

१० स्थानीय तह रहेको तनहुँमा नगरपालिकाका मेयर  उपमेयर र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षका लागि निर्वाचन नजिकिएसँगै चर्चा र अड्कलबाजी सुरु भएको हो ।

हरेक पालिकाको प्रमुखमा कसले उम्मेदवारी दिन्छन् भनेर चिया पसलदेखि राजनीतिक वृत्तसम्म उत्सुकताका साथ चर्चा हुने गरेको छ । 

प्रमुख पदका लागि गर्ने गरिएका चर्चा र अड्कल भने पुरुष केन्द्रित हुने गरेको छ । प्रमुख पदको उम्मेदवारीमा महिलाको चर्चा र अड्कलबाजी भने शुन्यप्राय नै छ ।

जिल्ला सदरमुकाम समेत रहेको व्यास नगरपालिकाको मेयर पदमा बहालवाला मेयर वैकुण्ठ न्यौपानेको चर्चा चलिरहँदा बहालवाला उपमेयर मिरा जोशीको प्रमुख पदमा चर्चा भने कतै सुनिँदैन ।

व्यासमा काँग्रेसका अशोक कुमार श्रेष्ठ, एमाले–जोशी समूहका दिपक राज जोशी, माओवादीको अतिन्द्र केशरी न्यौपानेको चर्चा मेयरको उम्मेदवारको रुपमा चलिरहँदा न त मिरा जोशीको चर्चा हुन्छ, न त वसुन्धरा घर्तीको नै चर्चा चल्छ ।

त्यसो त उपमेयर जोशीको नगर प्रमुखमा दाबी छँदै नभएको पनि हैन । उहाँले कतिपय सार्वजनिक मञ्च र सञ्चार माध्यमहरूमा मेयरमा आफ्नो दाबी रहेको बताउँदै आउनुभएको थियो । फेरि पनि राजनीतिक वृत्तमा मात्र हैन प्रमुख पदको सवालमा उनको मात्र हैन अन्य महिलाहरूको चर्चा शून्य नै छ ।

मानौँ प्रमुख पद पुरुषको लागि मात्र हो, र यस्तै देखिन्छ तनहुँको चुनावी माहौल पनि । चाहे राजनीतिक वृत्तमा होस, चाहे दलहरूको आन्तरिक बैठकमा होस वा चाहे चिया गफ वा चौतारी गफमा होस उम्मेदवारको चर्चा र परिचर्चा त हुन्छ तर प्रमुख पदमा महिला उम्मेदवारको चर्चाले भने कतै पनि प्रवेश गरेको भेटिँदैन ।

व्यास नगरपालिकामा जस्तै जिल्लाकै विकट घिरिङ गाउँपालिकामा बहालवाला अध्यक्ष रनबहादुर रानाको पुनः उम्मेदवारीको चर्चा चलिरहँदा उपाध्यक्ष सरस्वती सिग्देल भने पार्टीबाटै सिफारिस हुन सक्नुभएन । उहाँले सार्वजनिक फोरमहरूमा आफ्नो दाबी अध्यक्ष पदमा रहेको बताउँदै आउनुभएको थियो । फेरि पनि उहाँको दाबीलाई न त उहाँको दलले नै गम्भीर रूपमा लियो । न त सम्भावित उम्मेदवारको नामावलीभित्र उनको नाम नै कतै उल्लेख भयो ।

त्यस्तै, ऋषिङ गाउँपालिकामा बहालवाला अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको पुनः दोहोरिने अड्कलबाजी र चर्चा चल्छ तर उपाध्यक्ष गिनुमाया थापालाई मेयर पदसँग जोडिएर चर्चा गरिएको सुनिँदैन । अझै उहाँलाई पुनः उपाध्यक्ष हुन पनि गाह्रो देखिन्छ । उहाँको नाम उपाध्यक्षको आकाँक्षीका रुपमा रहेता पनि उहाँसँगै उहाँको पार्टीका आधा दर्जनले उपाध्यक्ष हुने आकाङ्क्षा पार्टी भित्र देखाएका छन् ।

यस्तै,बन्दिपुर गाउँपालिकामा पनि हालका गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा पुनः अध्यक्षमा दोहोरिने चर्चा चल्दा हालकी उपाध्यक्ष करुणा गुरुङको चर्चा भने सुनिएको छैन । उहाँहरू दुवै नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

तनहुँमा नेपाली काँग्रेसकी मिरा जोशी, एमालेकी वसुन्धरा घर्ती, माओवादी केन्द्रकी करुणा गुरुङ प्रतिनिधिमूलक महिला नेतृत्व हुनुहुन्छ । जीवनको लामो समय पार्टी र सङ्गठनमा खर्चनुभएको यी महिला नेतृको चर्चा पनि प्रमुख पदमा छैन । पार्टी सबलीकरण र महिला आन्दोलनमा होमिएकी महिला नेतृहरू पार्टीले महिलालाई विभेद गरेको बताउनुहुन्छ ।

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल महिला नेतृत्वप्रति दलहरूले विश्वास नगर्ने परिपाटी आम पार्टीमा रहेको बताउनुहुन्छ । यस्ता परिपाटीहरूको अन्त्य हुनुपर्ने र आगामी स्थानीय तहको निर्वाचनमा दलहरूले पालिकाहरूको प्रमुख पदमा महिलाको सङ्ख्या बढाउन गम्भीर भएर लाग्नु पर्ने उहाँ बताउनुहुन्छ ।

व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी व्यवस्था फेरिए पनि अवस्था नफेरिएको कारण महिलाहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउनुहुन्छ । एकातिर महिलाहरूले आफूलाई दावदारीको रुपमा प्रस्तुत गर्न नसक्नु र अर्कोतिर पुरुषहरूले प्रमुख पदमा आफ्नै वर्चस्व खोज्नुले पनि महिलाहरूको चर्चा नभएको उहाँले बताउनुभयो ।

त्यसो त प्रमुख पदका लागि महिलाहरू अक्षम हैनन् । यसअघि पालिकाका उपप्रमुख भएर आफ्ना कर्तव्य निर्वाह गर्दै आएकी महिला उपप्रमुखहरू सक्षम नै छन् । फेरि पनि कुनै पनि पालिकाको चर्चा गर्दा प्रमुखकै नाम मात्र अगाडि आउने गरेको अनुभव शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीको छ । “मेयरले जतिको काम हामीले पनि गरेका छौँ तर चर्चा भने मेयरको मात्र हुने गर्छ ।” उहाँले भन्नुभयो, “समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै उस्तै पुरातन छ ।”

महिलालाई नेपाली समाज र नेपाली राजनीतिमा गरिने विभेद र पुरुषवादी सोच, हैकमका कारणले महिला ओझेलमा परेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाको भनाई रहेको छ ।

राजनीतिमा पुरुषकै वर्चस्व रहेकै कारणले पनि हरेक निर्वाचनमा प्रमुख पदका लागि पुरुषकै मात्र चर्चा हुने र महिलालाई विश्वास भएर पनि दलहरूले टिकट दिन आनाकानी गर्ने गरेका कारणले पनि महिला उम्मेदवारको चर्चा नभएको रानाको कथन छ ।

पाँच वर्ष उपमेयरको दायित्व निर्वाह गरेकी शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली मेयरका लागि आफू योग्य भएको बताउनुहुन्छ । आफूसँग पाँच वर्ष उपमेयर भएको अनुभवको आधारमा आफू मेयर हुन योग्य भएको उपमेयर रसाइलीले बताउनुहुन्छ । आगामी निर्वाचनमा मेयर पदका लागि भने उहाँको चर्चा सुनिन्छ । एमाले नेतृ रसाइलीलाई नै मेयरका रुपमा एमालेले शुक्लागण्डकीमा अघि सार्ने देखिन्छ । हुन् पनि उहाँ शुक्लागण्डकी नगरपालिकामा एमालेबाट बलियो उम्मेदवार हुनुहुन्छ ।

यस्तै,यता बन्दिपुर गाउँपालिकामा हालकी उपाध्यक्ष करुणा गुरुङ पनि गाउँपालिका अध्यक्षकी आकाङ्क्षी हुनुहुन्छ । त्यस्तै भानु नगरपालिकामा माओवादी केन्द्रबाट ओमकुमारी पौडेलको नाम प्रमुखमा अघि आएको छ । त्यस्तै भानु नै नेपाली काङ्ग्रेसबाट हालकी उपमेयर आशा थापाले पनि मेयरमा आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।

यता म्याग्दे गाउँपालिकाकी हालकी अध्यक्ष माया रानाले पनि पुनः अध्यक्ष बन्न आकाङ्क्षा देखाउनुभएको छ । उहाँ गत २०७४ स्थानीय तहको निर्वाचनमा एक मात्र महिला प्रमुखको रुपमा जिल्लामा निर्वाचित हुनुभएको थियो ।

तनहुँमा गठबन्धन भर्सेस एमाले–जोशी समूह
तनहुँमा यसपालिको स्थानीय तहको निर्वाचन हेर्न लायक हुने भएको छ । जिल्लामा ४ दलीय गठबन्धन एकातिर छ भने अर्का तिर नेकपा एमाले र गोविन्द राज जोशी समूह रहेको छ ।

गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पाटी भित्र भागबण्डा मिल्न सकेको छैन । लामो समयदेखि दैनिक जसो छलफलमा बसेतापनि गठबन्धनका दल आ–आफ्नै अडानका कारण निष्कर्षमा पुग्न सकेका छैनन् ।

यता एमाले तनहुँ र जोशी समूह बीच भने तालमेल जुटिसकेको छ । सोही अनुसार जिल्लाभर भागबण्डा पनि गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button