पाल्पामा गठबन्धनले उम्मेदवारको टुङ्गो लगायो

पाल्पा । पाल्पामा सत्ता गठबन्धनले कुन पालिकामा कुन पार्टीबाट उम्मेदवार हुने भन्ने भागबण्डा टुङ्गो लगाएको छ ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसलाई ६, नेकपा माओवादी केन्द्रलाई दुई, नेकपा एस (एकीकृत समाजवादी)लाई दुई वटा पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय गरेको हो ।
नेपाली काँग्रेसले रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिने भएको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रको भागमा भने तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका र नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा अध्यक्ष उम्मेदवार चयन गर्ने गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले बताउनुभयो ।
यस्तै, नेपाली काँग्रेसले उपप्रमुख/उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।
नेकपा एस (एकीकृत समाजवादी) उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ भने माओवादी केन्द्रको भागमा निस्दी गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका परेका छन् ।
वडा अध्यक्ष पदका लागि काँग्रेसले २०७४ सालमा विजयी भएका ३७ स्थानमा कांग्रेस, ४ मा माओवादीकै उम्मेदवार हुनेछन् । जिल्लाका ८१ वडामध्ये बाँकी ४० वडामा स्थानीय अवस्था विश्लेषण गरी उम्मेदवार चयन गर्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्