तपाईँ सुन्दै हुनुहुन्छः

जिल्लामै मुटु परीक्षण हुँदा मुटु रोगी हर्षित

सोलुखुम्बु । २० वर्षदेखि मुटु रोगबाट पीडित सोलुखुम्बु माप्य-दूधकोशी गाउँपालिका–७ वाकुकी कृष्णकुमारी कुलुङले जिल्लामै मुटुको जाँच गर्न पाउँदा खुसी भएको बताउनुभयो ।

लाखौँ रुपियाँ खर्च गरेर समय समयमा काठमाडौँ धाएर परीक्षण तथा उपचार गर्नुपरेको भन्दै जिल्लाकै शिविरमा निःशुल्क मुटु परीक्षण तथा उपचार गराउन पाउँदा सहज भएको बताउनुभयो ।

सोलुखुम्बु जस्तो दुर्गम जिल्लाको अस्पतालहरूमा मुटुको उपचार सेवा नभएका कारण मुटुको उपचार सेवा लिन सुविधा सम्पन्न अस्पतालहरूमा जानुपर्ने यहाँका नागरिकको बाध्यता हो । तर जिल्लामै मुटु परीक्षण तथा उपचार सेवा पाउँदा एक त खर्च जोगिएको छ भने अर्कोतर्फ समयको समेत बचत भएको पाँच वर्षदेखि मुटुको उपचार गराउँदै आउनुभएका केरुङका पूर्ण बहादुर मगरले बताउनुभयो ।

सोलुखुम्बुको फाप्लुमा भएको एक दिने मुटु परीक्षण शिविरमा तीन सय बढीले सेवा लिएका छन् । इको हिमाल नेपालले सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको सहकार्यमा गरेको शिविरमा ३२५ जनाले मुटु परीक्षण गराएका हुन् ।

रोटरी क्लब दरबार मार्गको सह–आयोजनामा गरिएको शिविरमा १५० जनाको इसिजि, १६८ जनालेको (इको), मुटुको भिडियो एक्सरे गरिएको सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रवि मल्लले जानकारी दिनुभयो । उहाँअनुसार १४ जनाको जन्मजात नै मुटुको समस्या पहिचान भएको छ ।

जसमध्ये सात जनालाई सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँमा निःशुल्क उपचार गरिने गरी रेफर गरिएको छ । मुटु अत्यन्त संवेदनशील अङ्ग भए पनि जिल्लामा उपचार सम्भव नहुँदा नागरिकहरू रोग पालेरै बस्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button