तपाईँ सुन्दै हुनुहुन्छः

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल

फाइल तस्बिर

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताउनुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडामा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभएको छ, “आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायमा विशेष अपिल गर्दछु ।”

भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षमा बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दै उहाँले कम्युनिष्ट क्रान्तिकारीको अगुवाइ र लोकतान्त्रिक शक्तिको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको बताउनुभएको छ ।

“देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्व सन्ध्यामा रहेको छ, यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो”, अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिको साझा सङ्घर्षको परिणाम तत्कालका लागि प्रतिगमन पराजित हुन पुगे पनि खतरा पूर्णतः अन्त्य नभएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button