‘टाइफाइड विरुद्धको खोप सुरक्षित’

काठमाडौँ । सरकारले अभियानका रुपमा सञ्चालन गरेको टाइफाइड विरुद्धको खोप सुरक्षित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज एक भिडियो सन्देश जारी गरी विभिन्न अध्ययन र प्रयोगबाट टाइफाइड रोगसँग लड्न र नियन्त्रणका लागि प्रभावकारी रहेको पुष्टि भएपछि राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा सरकारले खोप लगाउन अनुमति दिएको स्पष्ट गरेको हो ।
१५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकाका लागि सरकारले अभियानका रुपमा ल्याएको टाइफाइड विरुद्धको खोप अन्य खोपको तुलनामा प्रभावकारी रहेको बाल रोग विशेषज्ञ डा.गणेशकुमार राईले जानकारी दिनुभयो ।
डा.राईले विश्व स्वास्थ्य सङ्गठनले पनि यसको गुणस्तर प्रमाणित गरी प्रयोगका लागि सिफारिस गरेको बताउनुभयो ।
टाइफाइड विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले बालबालिकाको जीवन रक्षा गर्ने भएकाले अभियान स्वरूप दिइएको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले यो खोप निःशुल्क रुपमा उपलब्ध गराएको छ ।







प्रतिक्रिया राख्नुहोस्