तपाईँ सुन्दै हुनुहुन्छः

कान्तिपुर टेलिभिजनमा पत्रकार महासङ्घको धर्ना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कान्तिपुर टेलिभिजनमा धर्ना कार्यक्रम शुरु गरेको छ । 

कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक,  बिना कारण कामबाट निष्कासन गरिएका पत्रकार दिपा दाहालको पुर्नवहाली लगायतको माग राखेर नेपाल पत्रकार महासङ्घ आज देखि चरणबद्ध संर्घषको कार्यक्रममा उत्रेको हो ।

आन्दोलनको पहिलो दिन पत्रकार महासङ्घको नेतृत्वमा तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धना कार्यक्रम आयोजना गरेको थियो ।

कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत झण्डै ८० प्रतिशत भन्दा बढी पत्रकारलाई राज्यले निर्धारण गरेको न्यूनतम पारिश्रमिकसम्म दिएको छैन । त्यस्तै पत्रकार दिपा दाहाललाई आफैले काम गर्न बोलाएर दुई वर्षसम्म अन्यत्र काममा जान नपाउने भन्दै आफैले जागिर अफर गरेर ल्याएको र कान्तिपुरकै अर्को भगिनी सङ्गठनमा १० वर्ष अगाडी भएको लै‌गिक हिंसाको विषयलाई आधार बनाएर करार नवीकरण नगरेर निष्कासन गरेको थियो ।

त्यसको विरोधमा पत्रकार महासङ्घले कान्तिपुर टेलिभिजनमा धर्ना कार्यक्रम आयोजना गरेको हो ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारी, महासचिव रोशन पुरीले पत्रकार दिपा दाहालको पूर्नंवहाली र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा नआउँदासम्म पत्रकार महासङ्घले आन्दोलनका कार्यक्रम नरोक्ने बताउनु भएको थियो ।

धर्ना कार्यक्रममा कान्तिपुरबाट निकालिएकी पत्रकार दिपा दाहालले आफु माथि अन्याय भएको बताउनुभयो । उहाँले आफूले तीन महिनामा तीन वर्षको जति खटिएर काम गरेको र पूर्वाग्रही भएर विनाकारण आफूलाई हटाइएको र त्यसका विरुद्ध र आफ्नो पूर्नवहालीका लागि नेपाल पत्रकार महासङ्घले साथ दिएकोमा महासङ्घप्रति धन्यवाद समेत दिनुभएको थियो । 
पत्रकार महासङ्घले गरेको धर्ना कार्यक्रममा पुगेरै सञ्चारसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले पनि महासङ्घको आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए ।

युनमीका अध्यक्ष गोविन्द धिताल, स्वतन्त्र पत्रकार सङ्गठन नेपालका अध्यक्ष एलएस लामा, नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमाल, राजधानी प्रतिष्ठानका अध्यक्ष ईश्वर विश्वकर्मा, काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने, सञ्चारिका समूहका उपाध्यक्ष पवित्रा सुनार, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य कल्पना शर्मा , प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर लगायतले पत्रकार दिपा दाहालको पुर्नवहाली र पत्रकार महासङ्घले राखेका अन्य माग प्रति ऐक्यबद्धता जनाएका थिए ।

महासङ्घले मङ्गलवार पनि मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म फेरि पनि निरन्तरताकै रुपमा कान्तिपुर टेलिभिजनको कार्यालयमा धर्ना कार्यक्रमलाई निरन्तरता दिनेछ ।

कान्तिपुर टेलिभिजन व्यवस्थापनले मागको सम्बोधन नगरे थप संर्घषका कार्यक्रम राखेर आन्दोलनलाई निष्कर्षमै पुर्‍याई छोड्ने महासङ्घका महासचिव रोशन पुरीले बताउनुभयो  । पत्रकार महासङ्घले वैशाख ७ र ८ गते नागरिक दैनिकमा पनि धर्नाको कार्यक्रम गर्ने गरी कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button