तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजको सकारात्मक रूपान्तरणमा चलचित्र क्षेत्रको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको सकारात्मक रूपान्तरणका लागि चलचित्र क्षेत्रको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउनुभएको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष चलचित्र तथा साधना सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले देश प्रेमको भावना जागृत गर्न र सभ्य समाज निर्माणमा चलचित्र क्षेत्र महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्र सामाजिक यथार्थता प्रतिबिम्बित गर्ने एउटा सशक्त माध्यम पनि भएकाले जनचेतना जागृत गर्ने गरी चलचित्रहरू निर्माण तथा व्यवस्थापनमा बल दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल चलचित्र छायाङ्कनका लागि विश्वकै आकर्षणको केन्द्र बन्न सक्ने भएकाले चलचित्र विकास बोर्डले यसतर्फ बढी जोड दिनु जरुरी रहेको बताउनुभयो ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्र मनोरञ्जनको साधनका साथै समाज रूपान्तरणको साधन समेत भएकाले यसको विकासका लागि मन्त्रालय हर सम्भव सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

मन्त्री कार्कीले नेपालको चलचित्र क्षेत्रलाई अझ बढी मर्यादित र व्यावसायिक बनाउन सरोकारवाला हरूसँगको सहकार्य र छलफलबाट ठोस नीति निर्माणमा मन्त्रालय लागिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र क्षेत्रको व्यवसायीकरण र प्रवर्द्धनका लागि बोर्डले काम गरिरहेको बताउनुभयो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रको विकासमा विशेष योगदान पुर्‍याउँदै आउनुभएका विभिन्न महानुभावहरूलाई सम्मानित गर्नुभयो ।

चलचित्र दीर्घ साधना सम्मानबाट नेपालकी प्रथम नायिका भुवन थापा चन्द र वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा सम्मानित हुनुभएको हो ।

चलचित्र दीर्घ साधना सम्मानको पुरस्कार राशि ३ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्र रहेको छ ।

सोही समारोहमा चलचित्र क्षेत्रका विभिन्न महानुभावलाई राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार र विशेष योगदान पुरस्कार पनि प्रदान गरिएको थियो ।

यसरी पुरस्कृत र सम्मानित हुनेहरूमा कलाकार राजेश हमाल, दीपकराज गिरी, दिपाश्री निरौला, आसबहादुर गुरुङ, दिनेश अधिकारी, शर्मिला पाण्डे, प्रवीण आचार्य, दीपेन्द्र के खनाल, शम्भु प्रधान, गौरी मल्ल, चैत्यदेवी सिंह, राजेश पायल राई, उदय सुब्बा, पुष्कर लामा, अर्जुन डङ्गोल, मदन घिमिरे, नबल खड्का, सुशील पोखरेल, राजीवविक्रम थापा, कमल राई, लक्ष्मी आचार्य, एन वि महर्जन, चिरञ्जीवी बस्नेत लगायत रहनुभएको छ ।

तस्वीरः सुनिल बज्राचार्य, राष्ट्रपतिको कार्यालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button