निर्वाचनमा आवश्यकताअनुसार तालमेल गरिन्छ: महामन्त्री शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको वृहत् कार्यकर्ता भेलामा महामन्त्री शर्माले काँग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय स्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताउनुभयो ।

महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीन वटा सरकार चलाउने गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले कांग्रेस भाषणभन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा काँग्रेसले जित्ने बताउनुभयो ।
देश विकासको नेतृत्व काँग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता (एमसिसी)बारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताउनुभयो । काँग्रेसले विदेशमा बिजुली निर्यात गरेर देशलाई समृद्ध बनाउन खोजेको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले घोषणापत्र तयार गरेको जानकारी दिँदै काँग्रेसले बाचा गरेका विषय पूरा गर्ने बताउनुभयो ।
कांग्रेस नेता एवं पूर्व मन्त्री भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई पहिलो शक्ति बनाउनका लागि युवा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ठोरी गाउँपालिकाका दुई दर्जन बढी युवा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्