तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य परीक्षणबाट २ सय ५ लाभान्वित

तनहुँ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

दुलेगौँडामा आयोजना गरिएको कार्यक्रममा मधुमेह तथा रगतमा हुने खराब बोसो सम्बन्धी निःशुल्क परिक्षण गरिएको थियो । 

युआरएल (युनाईटेड रिफ्रेन्स ल्याबोरेटरी)को प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य परीक्षणमा यस क्षेत्रका दुई सय पाँच जनाले लाभ लिएको क्लबका अध्यक्ष लायन विष्णुबहादुर रानाले जानकारी दिनुभयो । 

कार्यक्रममा अध्यक्ष रानाले स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने भावनामा विकास गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

उक्त कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ फिजिसियन डा.कृष्णराज अधिकारीले समयमै स्वास्थ्य समस्या पहिचान नहुँदा नेपाली नागरिकको स्वास्थ्य महँगो बन्न थालेको बताउनुभयो । “सामान्य लक्षण देखिदा बेवास्ता गरेकै कारण दिर्घरोगसँग लड्नु पर्ने अवस्था देखिन्छ” उहाँले भन्नुभयो, “स्वास्थ्यप्रति बेलैमा सचेत हुन सके रोग लाग्नबाट बच्न सकिन्छ ।”

युआरएलका प्रमुख ठाकुरप्रसाद पन्तले स्थापनाकाल देखिनै आफूहरू व्यवसायसँगै सामाजिक कार्यमा जुट्दै आएको बताउनुभयो । 

पन्तले लायन्स क्लबसहित विभिन्न सामाजिक संस्थाहरूको सहकार्यमा ११२औँ कार्यक्रमसम्म ८० हजार बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा तनहुँ लायन्स मोडेल भिलेजका चिफ लायन कृष्णप्रसाद पौडेल, सिनियर एओजी लायन मोतिप्रसाद पौडेल, जोन चियर पर्सन लायन प्रदीप थापा लगायतका वक्ताहरूले लायन्स क्लबले सामाजिक विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएको बताउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button