तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादकत्व बढाउन सल्यानमा चक्लाबन्दी खेती 

सल्यान । भूमिको बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन सल्यानमा चक्लाबन्दी खेतीलाई जोड दिइएको छ । 

खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिन समेत घट्दै जान थालेपछि चख्लाबन्दी कार्यक्रम सुरु गरिएको हो । 

स–साना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अघि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई अघि बढाएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाले जनाएको छ । 

बनगाड कुपिण्डे नगरपालिकाका १, ४, ५, ६ र ७ मा चक्लाबन्दीको कार्यक्रम गरिने र पहिलो चरणमा वडा न ४ को डोप्केमा सुरु गरिएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाका जिल्ला संयोजक दिगम्बर दाहालले जानकारी दिनुभयो । 

बनगाड कुपिण्डे नगरपालिकाका वडा नम्बर १, ४, ५, ६ र ७ मा जम्मा १ करोड ६७ लाख मध्ये  ७४ लाख ४५ हजारको बजेटबाट गरा सुधार गरिने उहाँले बताउनुभयो । डोप्केबाट काम सुरु भएको र बिस्तारै यी ५ वडामा नै सुरु हुने उहाँको भनाई छ । 

खेर गएको जमिनलाई सदुपयोग गरी माटो पानी संरक्षण गरी कृषि उत्पादनमा जोड दिने उहाँले बताउनुभयो । 

“कार्यक्रम लागू भएसँगै कृषिमा हुँदै आएको लागत घट्ने, खेतबारी बाँझो नहुने, सामूहिक रूपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग गरी लागत कम गर्न सकिने, जमिनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुनेछन् ।”उहाँले भन्नुभयो ।

सुधार गरिएको गराहरूमा जीविकोपार्जनका लागि उपयोगी जस्तै कृषि उत्पादन, फलफूल बिरुवा, अम्रिसो, नेपियर, निगालो, डालेघांस जस्ता प्रजातिको रोपण गरिने संयोजक दाहालले बताउनुभयो ।

 

खेती प्रणालीलाई व्यवस्थित गर्न र बाँझो जमिनलाई सदुपयोग गर्न स्थानीय तह तयार रहेको बनगाड कुपिण्डे–४ का वडाध्यक्ष मोमत रोकाले बताउनुभयो  ।

पहाडी भूःसंरचा र सम्भावनालाई हेर्दा जमिनको भन्दा बालीको चख्खाबन्दी गर्न उपयुक्त देखिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “बाँझोमा परिनत भएको खेतीयोग्य भूमि उपयोगमा ल्याउने र अन्य प्रयोजनका लागि अतिक्रमण हुन नदिई भूमिको जर्गेना, बाँझो र खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने सरकारको नीति छ ।” 

कृषि उत्पादन तथा व्यवसायीकरण तर्फ हुने अन्य कार्यक्रमलाई समेत चक्लाबन्दी कार्यक्रमसँग आबद्ध गर्न सकियो भने उत्पादनमा वृद्धि आउने वडाध्यक्ष रोकाको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button