स्थानीय तहको पाँच वर्षे विकास र सूचनाको हकबारे अन्तरक्रिया

भक्तपुर । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेशनल नेपाल प्रा.ली.ले भक्तपुरमा आयोजना गरेको पालिकाको पाँच वर्षे विकासमा सञ्चारकर्मीको भूमिका एवं सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले २० वर्षमा हुन नसकेको काम यो पाँच वर्षको अवधिमा जनप्रतिनिधिले गरेको बताउनु भयो ।
उहाँले चाँगुनारायण नगरपालिका क्षेत्रमा मेयरसँग उद्यमशीलता कार्यक्रममा, बैङ्क खाता छोरीको सुरक्षा भरिको जस्ता कार्यक्रममा देशमै नमुना बनेको बताउनुभयो ।
उहाँले पाँच वर्षका विकासलाई फर्केर हेर्दा २०० पन्नाको किताबमा पनि नहट्ने विवरण रहेको भन्दै चुनावमा गरेको घोषणा भन्दा धेरै विकास जनताको दैलो दैलोमा पुगेको बताउनु भयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर प्रमुख भएर जाँदा भाडाको चार कोठाबाट सुरु गरेको काम आफ्नै भवन बनाउने सम्ममा पुगेको, सबै वडा कार्यालय भवन, नगर अस्पताल, स्वास्थ्य संस्थाहरू निर्माण गरेको बताउनु भयो ।
उहाँले यो पाँच वर्षको अवधिमा १२१ वटा कार्यपालिका बैठक कुनै विवाद बिना सम्पन्न गरेको, १० वटा नगर सभा सम्पन्न गरेको, ११० किलोमिटर सडक कालोपत्रे गरेको, ६५ वटा ऐन, कानून बनाएको, ३७ वटा स्कुल, ३३ वटा पुल, ८ वटा ट्रस पुल, एक झोलुङे पुल बनाएको बताउँदै घोषणा पत्र भन्दा धेरै नै बढी काम सम्पन्न गरेको बताउनु भयो ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेटका कारण सूर्यविनायक नगरपालिकाको चौतर्फी विकास गर्न सफल भएको भन्दै उहाँले आफ्नो कार्यकालमा गर्न हुने काम नगरेको र गर्न हुने काम कुनै पनि पार्टी नहेरी गरेको बताउनुभयो ।
त्यस अवसरमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, चानपाका प्रमुख प्रशासकीय प्रमुख हरिप्रसाद चापागाईँ, सूनपाका प्रमुख प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद कँडेललगायतले पाँच वर्षमा भएको विकासका कामहरूको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त यशोदा तिमल्सिनाले सूचनाको हकको बारेमा जानकारी दिँदै प्रत्येक पालिकाले सूचना माग्न आएका व्यक्तिलाई सूचना दिनु पर्ने बताउनु भयो ।
उहाँले सूचनाको हकका बारेमा अझै कर्मचारीले जान्नु पर्नेमा जोड दिँदै पत्रकारले सूचनाको हकलाई प्रयोग गर्नु पर्ने औँल्याउनु भयो । उहाँले कुखुरा चोर पनि पत्रकार हुने नेपालको प्रवृत्ति हटाउन पर्नेमा जोड दिँदै पत्रकार बन्नका लागि कम्तीमा स्नातक तह उर्तीण हुनु पर्ने र लाइसन (अनुमति पत्र) अनिवार्य लिनु पर्ने व्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले निर्वाचन पछि नयाँ आउने जनप्रतिनिधिले विगत पाँच वर्षका भएका राम्रा कामलाई निरन्तरता दिनु पर्ने र नराम्रा कामलाई छाडेर जानु पर्नेमा जोड दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्