मलेसिया–११ द्वारा पुलिस क्लबमाथि १ विकेटको जित
भैरहवा । मलेसिया–११ ले प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । योसँगै पुलिस ३ खेलमा जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ ।
जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १७ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि सिद्धार्थ रङ्गशाला भैरहवामा टस हारेर ब्याटिङ थालेको पुलिस १९.४ ओभरमा ९९ रनमा अल आउट भयो ।
अर्को खेलमा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ ।
भैरहवा रङ्गशालामा भएको खेलमा एपीएफले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । ट्यालेन्ट हन्टले दिएको १२६ रनको लक्ष्य एपीएफले १९ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।
समूह ए मा रुपन्देही–११ ले २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ ।
रुपन्देहीले बुधवार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ । उक्त खेलमा रुपन्देही विजयी भएमा मलेसिया सेमिफाइनलमा पुग्नेछ ।
रुपन्देही पराजित भएमा दिल्ली र मलेसियाको नेट रन रेटमा निर्भर रहनेछ । दिल्ली २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । पुलिस ३ खेलमा पराजित हुँदै अङ्कविहीन बन्दै बाहिरिएको छ ।
समूह बी मा त्रिभुवन आर्मी क्लब २ खेलमा २ मा जितसहित शीर्ष स्थानमा छ । उत्तर प्रदेश क्रिकेट क्लब–११ समान खेल र नतिजाका साथ दोस्रो स्थानमा छ ।
उत्तर प्रदेश र आर्मी समूह बी बाट सेमिफाइनलमा पुगेका छन् । एपिएफ ३ खेलमा २ मा हार र १ मा जितसहित समूह बी को तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्