वीरगन्जमा वृहत् शैक्षिक मेला सुरु
बीरगंज । वीरगन्जमा २ दिने बृहत् शैक्षिक मेला सुरु भएको छ ।
स्टडी इन इन्डिया एक्स्पोले नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगन्जमा शैक्षिक मेलाको आयोजना गरेको हो ।
शैक्षिक मेलाको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र शिक्षाविद् प्राध्यापक डा. दिपक शाक्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

भारतमा उच्च शिक्षा आर्जनको प्रक्रियाका लागि र सेवा तथा सुविधा सम्बन्धमा २० वटा प्रमुख विश्वविद्यालय र कलेजहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको मेलाका संयोजक कुमार थपलियाले जानकारी दिनुभयो ।
शैक्षिक मेलामा नयाँ पाठ्यक्रमहरू, योग्यता मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूको बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइने थपलियाले बताउनुभयो ।
एक्स्पो प्रामिनेन्ट सर्भिसेज (नेपाल) ले अफेयर्स एक्जिबिशन एन्ड मिडिया (भारत) को सहकार्यमा आयोजना गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश, नेपाल भारत सहयोग मञ्च, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरले शैक्षिक मेलामा सहयोग गरेको छ ।
वीरगन्जको दियालो लर्ड प्लाजामा आयोजित मेला बुधवारसम्म चल्ने छ । स्टडी इन इन्डिया एक्स्पोले विगत १४ वर्षदेखि नेपालमा नियमित रूपमा शैक्षिक मेलाको आयोजना गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्