तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सञ्चारकर्मीको खबरदारी तथा निगरानी आवश्यक : प्रमुख निर्वाचन आयुक्त थपलिया  

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सञ्चारकर्मीको खबरदारी तथा निगरानी  आवश्यक रहेको बताउनु भएको छ ।

 विराटनगरमा आज आयोजित स्थानीय तह निर्वाचन मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले निर्वाचन निष्पक्ष तथा मितव्ययी बनाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

 भ्रामक र गलत सूचनाले निर्वाचनलाई प्रभाव पार्ने भएकाले निर्वाचनको हरेक चरणमा  सत्यतथ्य समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई उहाँले आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले वैशाख–३० गते स्थानीय तहको निर्वाचन गराउनका लागी निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्थामा अव पनि निर्वाचन हुँदैन भन्ने आशङ्का नगर्न आग्रह गर्नुभयो ।

उहाँले निर्वाचन तोकिएको मितिमा हुने त्यसका लागि आयोगले ३० जिल्लाका लागि मतपत्र छापिसकेको बताउनुभयो । निर्वाचन दायाँबायाँ गर्न खोजिए मुलुकमा दुर्घटना निम्तिन सक्ने उहाँको भनाई थियो ।

उहाँले यस पटकको स्थानीय निर्वाचनमा महिला सहभागिता ४५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेतले निर्वाचनलाई सफल बनाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश न १ का अध्यक्ष लिलावल्लभ घिमिरेले आचारसंहिता कार्यान्वयनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button