प्रचारबाजी गरिएजस्तो आर्थिक संकट देशमा छैन: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बाहिर प्रचारबाजी गरिएजस्तो आर्थिक सङ्कटको अवस्था देशमा नरहेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकहरू सार्वजनिक गर्नुहुँदै कोभिडको प्रभावपछि अर्थतन्त्र चलायमान भइरहेका बेला आम जनमानस र व्यावसायिक जगतलाई हतोत्साहित गर्ने र राजनीतिकरण गर्ने काम भइरहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले विश्वव्यापी समस्याहरूका कारण केही कठिन अवस्था रहे पनि अर्थतन्त्र भने सङ्कटमा परि नसकेको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय सतर्कताका साथ लागेको उल्लेख गर्नुहुँदै संकट टार्नका लागि विभिन्न निर्णयहरू गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयको सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा अर्थमन्त्री शर्माले त्यो निर्णय नियम सङ्गत नै रहको र अहिले गभर्नरमाथि छानबिन गर्न समिति बनाइएकाले छानबिन समितिले प्रतिवेदन दिएपछि सबै कुरा स्पष्ट हुने बताउनुभयो ।

अर्थमन्त्री शर्माले आफूले मातहतका निकायहरूमा कसैलाई पनि हस्तक्षेप नगरेको उल्लेख गर्नुहुँदै सबैसँग सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा अर्थ सचिव मधुकुमार मरासिनीले कोभिड अगाडिभन्दा अर्थतन्त्र राम्रो अवस्थामा रहेको बताउनुभयो ।
अर्थ सचिव मरासिनीले वैदेशिक रोजगारीमा गएकाहरूले पैसा पठाउने क्रम बढ्दै गएकाले पनि विदेशी मुद्राको सञ्चितिमा सुधार आउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्