अछामका विद्यालयमा वार्षिक परीक्षा सुरु
अछाम । अछामका विभिन्न सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सुरु भएको छ ।
जिल्लाका विभिन्न विद्यालयमा पालिका स्तरीय प्रधानाध्यापकको बैठकबाट निर्णय भए बमोजिम वार्षिक परीक्षा सुरु भएका हुन् ।

प्रधानाध्यापकहरूको बैठकबाट निर्णय भई सोमबारबाट आफ्नो पालिकामा रहेका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सुरु भएको मङ्गलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख जगत रावलले बताउनुभयो ।
आफ्नो पालिकाका विद्यालयहरूमा पनि सोमबारबाट वार्षिक परीक्षा सञ्चालन भएको कालिका मावि पातल कोटका शिक्षक मेघराज जोशीको भनाई छ ।
कोरोना महामारीका कारण करिब ४ महिना विद्यालय अवरुद्ध हुँदा कोर्स पूरा गर्न नसकिएको प्रगतिशील आधारभूत विद्यालय मङ्गलसेन १ का प्रधानाध्यापक चन्द्रकला विष्टले बताउनुभयो ।
यो बर्ष अर्धवार्षिक परीक्षा समेत सञ्चालन हुन नसकेको विद्यालयहरूले जनाएका छन् । १० पूर्णाङ्कको त्रैमासिक परीक्षा लिए पनि ३० पूर्णाङ्कको अर्धवार्षिक परीक्षा लिन नसकिएको देवलगडा आधारभूत विद्यालयका प्रधानाध्यापक नगेन्द्रप्रसाद ढुङ्गानाले बताउनुभयो ।
अहिले ९० पूर्णाङ्क कायम हुने गरी परीक्षा सञ्चालन गरिएको षोडशादेवी मावि मङ्गलसेनका प्रधानाध्यापक मदन कुँवरको भनाई छ ।
कोर्स पूरा नभई परीक्षा दिनुपर्दा विद्यार्थीमा अन्यौलता आएको शिक्षकहरूको भनाइ छ ।
शिक्षा मन्त्रालयले आगामी शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने गरी वैशाख महिनाभित्र परीक्षाको कार्य सकेर भर्ना लिइसक्न निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्