औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा १ करोडको कारोबार

भक्तपुर । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको औद्योगिक तथा व्यापार मेलाको पाचौं दिनसम्म रु १ करोडको कारोबार भएको छ ।
छैटौँ औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको (आज) सोमबार पाचौं दिनसम्म आइपुग्दा १ करोड रुपैयाँको आर्थिक कारोबार भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले बताउनुभयो ।
१० दिने मेलामा करिब ३ लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ भने करिब ८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
नयाँ वर्षको पूर्व सन्ध्यामा चैत्र २४ गतेदेखि सुरु भएको यो मेला वैशाख ४ गतेसम्म हुनेछ । जसमा २ सयभन्दा बढी स्टल रहेका छन् ।
भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई रु ४० र अन्यका लागि रु ५० प्रवेश शुल्कको तोकिएको छ ।
मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरू सहज र सुपथ मूल्यमा उपलब्ध गराइएको मेला संयोजक दीपक थापाले बताउनुभयो ।
मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू छन् ।
‘फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधि सम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी रहेको संयोजक थापाको भनाई छ ।
दैनिक जसो सांस्कृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रिय स्तरका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको मेलाका निर्देशक सुनिल बज्राचार्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्