नेपालमा कल्पना गरेभन्दा बढी पर्यटक आउने सम्भावना छ : अध्यक्ष तिमिल्सिना

बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरूले सत्ताभन्दा माथि जनताको हितका विषयमा काम गर्नुपर्ने बताउनुभएको छ ।
नेतालाई सत्तामा पुर्याउने र उनीहरूको हितका लागि मात्रै काम गर्ने परिपाटीको विकास भएको भन्दै उहाँले जनताको जीवनस्तर उकास्ने खालका काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“अब हरेक जनताले सोध्नुपर्ने हुन्छ, जनताले भोट हालेर तपाईँलाई सत्तामा पुर्याउने, तपाईँहरू सत्तामा आलोपालो गर्ने, भागबन्डा गर्ने, कुर्सीको मात्रै चिन्ता गर्ने जनताको हित हुने गरी विकास र समृद्धि कहिले ल्याउने ?” उहाँले भन्नुभयो “मतदान गर्नु पूर्व सबैले सोधेर मात्रै मतदान गर्ने बेला आएको छ ।”
बागलुङ कालिका भगवती गुठीले आयोजना गरेको चैत्राष्टमी मेलाको शनिबार बागलुङमा उद्घाटन गर्नुहुँदै उहाँले आगामी स्थानीय तहको निर्वाचनमा निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने वातावरण बनाउन सरकार, राजनीतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले जन निर्वाचित प्रतिनिधि सत्ता र शक्तिका लागि मात्र केन्द्रित रहेको टिप्पणी गर्नुभयो ।
स्थानीय तहको निर्वाचनलाई जनताले अधिकतम प्रयोग गर्दै सक्षम जनप्रतिनिधि छनोट गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले त्यसका लागि सरकारले सकारात्मक वातावरण तयार पार्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदो गतिमा गएको बताउनुभयो । उहाँले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकहरू आउने सम्भावना रहेको बताउनुभयो ।
“चैते दसैँ बागलुङको पहिचान मात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो “अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुनेछन् ।”








प्रतिक्रिया राख्नुहोस्