तपाईँ सुन्दै हुनुहुन्छः

पाँच वर्षमा सोलुखुम्बुका दुई स्थानीय तहले मात्र बनाए आफ्नै भवन

सोलुखुम्बु । सङ्घीयतापछिको पहिलो पाँच वर्षमा सोलुखुम्बुका दुई स्थानीय तहले आफ्नै स्थायी प्रशासनिक भवन निर्माण गरेका छन् । आठ स्थानीय तह रहेको जिल्लाको सोताङ र माप्य दूधकोशी गाउँपालिकाले मात्र आफ्नै प्रशासनिक भवन निर्माण गरेका हुन् ।

थुलुङ दूधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अस्थायी रुपमा निर्माण गरेको भवनबाट प्रशासनिक सेवा दिइरहेको सम्बन्धित पालिकाले जनाएका छन् । थुलुङ दुधकोशी गाउँपालिकाले प्रशासनिक सेवाका लागि करिब १७ रोपनी क्षेत्रफलमा रहेको जग्गामा स्थायी संरचना निर्माण गर्न सुरु गरिसकेको छ भने हाल साबिक प्रिफाइभ भवनबाट सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष असीम राईले बताउनुभयो ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि वडा नम्बर २ मा करिब १४ रोपनी जग्गा पास गरिसकेको छ । निर्माण सामाग्री ढुवानी बढी खर्चिलो हुने भएकाले पालिका केन्द्रसम्म सडक पुगेसँगै निर्माण प्रक्रिया अघि बढाउने कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले बताउनुभयो ।

जिल्लाको एक मात्र नगरपालिका सोलु दूधकुण्ड नगरपालिकाले साबिक सल्लेरी गाविसको भवनलाई स्तरोन्नति गरेर प्रशासनिक सेवा प्रवाह गर्दै आएको छ । प्रशासनिक भवन निर्माणका लागि नगरपालिकाले उपयुक्त स्थानमा जग्गा उपलब्ध हुन नसकेको बताउँदै आएको छ ।

नेचा सल्यान गाउँपालिकाले साबिक नेचा बेतघारी गाविस भवनलाई नै पालिकाको प्रशासनिक भवनको रुपमा प्रयोग गरेको छ भने लिखुपिके गाउँपालिकाले साबिक चौलाखर्क गाविसको भवनबाट सेवा प्रवाह गरिरहेको छ । लिखुपिकेमा प्रशासनिक भवन निर्माणका लागि जग्गा विवादका कारण रोकिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

महाकुलुङ गाउँपालिकाले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको जनाएको छ । उक्त पालिकाले साबिक बुङ गाविसको भवनलाई प्रशासनिक भवनको रुपमा प्रयोग गरे पनि पर्याप्त नभएकाले थप भाडामा भवन प्रयोग गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले जानकारी दिनुभयो । पालिका केन्द्र विवादका कारण मुद्दा परेकाले भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button