तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षा गरेका छन्: गृहमन्त्री खाँण

बेनी । गृहमन्त्री बालकृष्ण खाँणले आदिवासी जनजातिहरूले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ ।

म्याग्दी सदरमुकाम बेनीमा नेपाल छन्त्याल सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाका रूपमा भूमिका खेलेको बताउनुभयो ।

नेपालको दुर्गम र विशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी उत्खनन रहेको उल्लेख गर्दै उहाँले खानी उत्खनन गर्दा स्थानीयवासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने धारणा राख्नुभयो ।

नेपाल भूगोलका रूपमा सानो रहे पनि संस्कृति, धर्म, भाषा, भूगोल र जातीय विविधता रहेको उल्लेख गर्दै विविधताको संयोजनले नै राष्ट्रियताको संवर्द्धन गर्ने धारणा उहाँले राख्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकीसहित बजार परिक्रमा गरिएको थियो । झाँकीसहितको र्‍याली पश्चात् जिल्ला समन्वय समितिको सभा हलमा पुगेर औपचारिक उद्घाटन सत्र सम्पन्न भएको थियो ।

महाधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन हुनेछ । महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट आएका ३५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सङ्घका अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button