सुनसरीमा टाइफाइड विरुद्धको खोप अभियान भोलिदेखि

सुनसरी । सुनसरीमा टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
टाइफाइड रोग विरुद्धको खोप अभियान २०७८÷०७९ अन्तर्गत अभियान सञ्चालनको तयारी पुरा भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयले बिहीबार अभिमुखीकरण गराउँदै टाइफाइड रोग विरुद्धको खोप अभियान चैत २५ गतेदेखि २०७९ वैशाख १८ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँले जिल्लाका १२ वटै पालिकामा तालिका बनाएर सञ्चालन गरिने बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई १ मात्रा खोप लगाइने छ ।
उहाँले जिल्लाका १२ पालिकाका १ सय २४ वडाका दुई लाख २४ हजार ३ सय १६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले नियमित खोप अभियानमार्फत १५ महिनाको उमेरका सबै बालबालिकाहरूलाई १ मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन हुने बताउनुभयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाभरि एकै साथ अभियानका रुपमा टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएकोले सबैले यो अभियानलाई सफल पार्न अपिल गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीले समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि खोप अभियानले मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत उर्मिला राईले खोप सञ्चालनका लागि जिल्लामा ६ सय ९५ वटा खोप केन्द्र, एक हजार ३ सय ११ जना स्वास्थ्यकर्मी, एक हजार ३ सय ९५ जना स्वास्थ्य स्वयंसेविका परिचालन हुने जानकारी दिनुभयो ।
जिल्लाका दुई सयभन्दा बढी विद्यार्थी भएका सबै विद्यालयमा खोप केन्द्र रहने व्यवस्था मिलाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्