तपाईँ सुन्दै हुनुहुन्छः

चुनावमा बालबालिका प्रयोग गर्नु हुँदैन : मन्त्री रेग्मी 

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत भएको बताउनु भएको छ । मन्त्री रेग्मीले बिहीबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै बालबालिकालाई सानैदेखि राजनीतिक कुरा सिकाउन आवश्यक नभएको समेत बताउनुभयो । 

“राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत र गैरकानूनी कार्य हो । यसमा राजनीतिक पार्टी र उम्मेदवारले ध्यान दिनुपर्छ । सानैबाट बालबालिकालाई राजनीतिमा लगाउन आवश्यक छैन” मन्त्री रेग्मीले भन्नुभयो । 

बालबालिकालाई विद्यालय स्तरबाटै मनोवैज्ञानिक कुरा सिकाउन आवश्यक रहेको भन्दै मन्त्री रेग्मीले बालबालिका गलत बाटोमा जाँदा देश नै गलत बाटोमा जाने बताउनुभयो । बालबालिकालाई जन्मेदेखि ७ वर्षसम्म विशेष स्याहार आवश्यक रहेको बताउँदै बालगृहमा राख्दा मानसिक र शारीरिक रुपमा ठूलो असर पर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले आमा बुबा र अभिभावक नभएका बालबालिकाको लागि बालगृहको स्थापना भएको भएपनि त्यो लागू हुन नसकेको बताउनुभयो । उहाँले खोज तलास, बालगृह र सुधार गृहको स्पष्ट परिभाषासँगै नीति बनाएर लागू पर्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री रेग्मीले आफूले जिम्मेवारी समालेपछि नियमावली परिमार्जन गर्न पहल गरेको बताउँदै अब मन्त्रिपरिषद्बाट पारित हुने जानकारी समेत दिनुभयो । कर्मचारीतन्त्र असहयोग र बजेट अभावका कारण आफूले सोचेअनुसार ऐन, नियमको काम अगाडि नबढेको मन्त्री रेग्मीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button