तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय निर्वाचनको सुरक्षाका लागि कञ्चनपुर प्रहरीले रणनीति थाल्यो

कञ्चनपुर । कञ्चनपुरमा चुनावी माहौललाई भय रहित र सुरक्षित बनाउन  प्रहरीले तयारी थालेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागि कञ्चनपुर प्रहरीले सुरक्षाको रणनीति थालेको छ । कञ्चनपुरका ३ सय ४१ ओटै मतदान केन्द्रमा प्रहरीले राम्रो सुरक्षा प्रबन्ध गर्ने एसपी चौधरीले बताउनु भएको छ ।

उहाँले निर्वाचन सुरक्षामा १ हजार भन्दा बढी प्रहरी र १ हजार ५०० म्यादी प्रहरी परिचालन हुने बताउनुभयो । ‘चुनावी माहौललाई भय रहित र सुरक्षित बनाउन प्रहरी कुनै कसरत छोड्दैन । मतदाता र उम्मेदवारका लागि सुरक्षामय वातावरण बनाउँछौँ ।’ कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीले भन्नुभयो ।

निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावली अनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या २ लाख ९५ हजार ३५४ रहेको छ ।

जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ । अन्यमा एक जना मतदाता रहेका छन् । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार ८७१ ले बढी छ । 

नौ वटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता लालझाडी गाउँपालिकामा १४ हजार १४ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button