तपाईँ सुन्दै हुनुहुन्छः

जात्रा लगायतका संस्कृति हाम्रा पहिचान हुन्: पूर्व अध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालका चाडपर्व र जात्रा लगायतका संस्कृति हाम्रा पहिचान भएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्ककृष्ण श्रेष्ठको भक्तपुरको थिमीमा हुने ऐतिहासिक बिस्काः जात्रासम्बन्धी भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा प्रदर्शनीमा रहेको तीन दिने एकल फोटो प्रदर्शनीको अवलोकनपछि उहाँले आफ्नो सभ्यता र संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले गरिएको फोटो प्रदर्शनी नयाँ आयाम भएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा पूर्व अध्यक्ष रेग्मीले नेपाल र नेपालीको सभ्यता, संस्कृति र मौलिक पहिचान बोकेका जात्रा लगायतका संस्कृति र परम्परालाई पुरानो पुस्ताबाट युवा हुँदै नयाँ पुस्तामा हस्तान्तरण गरी समुन्नत बनाउनुपर्ने बताउनुभयो ।

पत्रकार श्रेष्ठले १० वर्षयता खिच्नुभएका ठिमीमा मनाइने बालकुमारी, दक्षिण वाराही, विष्णुवीर, सिद्धिकाली गण, नगदेशको सिद्धि गणेश तथा बोडेको महालक्ष्मी गण र जिब्रो छेड्ने जात्राका एक सय तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

विद्यालयका छात्रछात्रा, समाजका विभिन्न क्षेत्रका व्यक्ति ऐतिहासिक जात्राका तस्बिर हेर्न प्रदर्शनीमा पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button