मिथिलाञ्चल सहित तराई मधेसमा आजबाट चैते छठ शुरु
जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेसका जिल्लाहरूमा आज देखि चैते छठ शुरु भएको छ ।
चैत शुक्ल चतुर्थी देखि सप्तमीसम्म चार दिन विभिन्न विधि विधान सहित मनाइने पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गरेको छ । पर्वको पहिलो दिन व्रतीले नदी तलाउ एवं सरोवरमा स्नान गरेर व्रत सङ्कल्प गरी चाखो खाना खाएर नहा खाय गरेका छन् ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ पर्व सूर्य उपासना गरेर मनाइन्छ । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान र प्रसादको प्रयोग गरेर पर्व मनाउने चलन रहेको छ ।
मधेस प्रदेशको प्राचीन मिथिलाका राजधानी जनकपुरधाम सहित आसपासको क्षेत्र तथा तराई मधेसका अन्य जिल्लाहरूमा पनि पर्व मनाउने गरिन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिर खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिका दिन दिनभरि निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने चलन रहेको छ ।
सप्तमी थितिका दिन फेरि सोही प्रक्रियाले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर पर्वको समापन गर्ने चलन रहेको छ ।
चैते छठ पर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल सामग्रीहरु बर्तालुले प्रसादको रुपमा सूर्यलाई अर्घ दिएर चढाउने चलन रहेको छ ।
छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निको पार्नका लागि लागि गरेका र त्यसै बेलादेखि प्रारम्भ भएको मानिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहेको छ । चैते छठ मनाउनेको सङ्ख्या विगत केही वर्ष यता आएर निक्कै बढेर गएको छ ।







प्रतिक्रिया राख्नुहोस्