मधेस प्रदेशमा टाइफाइड विरुद्धको विशेष खोप अभियान चैत्र २५ गतेबाट
जनकपुरधाम । टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइड विरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म हुने भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय पत्रकार अन्तरक्रियामा खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने छ ।
विशेष अभियान अन्तर्गत हुन लागेको टाइफाइड विरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।

मधेस प्रदेशको ८ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७ सय १० जना रहेको जनाउँदै स्वास्थ्य निर्देशनालयले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको जनाएको छ । नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइड विरुद्धको खोप दिन लागिएको हो ।
टाइफाइड विरुद्धको खोप अभियान इस्ट एसियाको पहिलो देश नेपाल बन्ने विश्व स्वास्थ्य सङ्गठनका मधेस प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले जानकारी दिनुभयो ।
खोप पूर्ण रुपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकोले निर्धक्क भएर खोप लिन निर्देशक झाले आग्रह गर्नुभयो ।
हात मार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, सरसफाईमा विशेष ध्यान दिने तथा मास्क लगाउने कामलाई निरन्तरता दिन वरिष्ठ स्वास्थ्य प्रशासक श्रवण नायकले आग्रह गर्नुभएको छ ।
अढाई एम एलको एक भाईल खोपबाट ५ जनालाई दिन मिल्ने र खोपको विषयमा स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित बनाउने काम भएको निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्