तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको मोदी गाउँपालिकाका महिलाको फेरिएको दैनिकी

पर्वत । यदाकदा बाहेक प्राय हाम्रो समाजको अवस्था हेर्ने हो भने पुरुषले कमाउने महिलाहरू गृहिणीको रुपमा काम गर्ने चलन छ । घरपरिवार, इष्टमित्र बालबच्चाको जिम्मा नै महिलाको हो भनेर समाजले जिम्मा नै लगाए जस्तो अनुभूति हाम्रो समाजले गराएको छ । 

कोही कोही महिलाहरू बाहेक अधिकांश महिलाहरू घर बाहेकको बाहिरी संसारमा रम्न र रमाउन विरलै पाएका हुन्छन् । अझ भनौँ हाम्रो समाज अझै पनि परिवर्तन खासै हुन सकेको छैन । तर एक दशक भन्दा पछिको अवस्था हेर्ने हो भने महिलाहरू पनि यो.घरपरिवार, समाज र देश परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् भन्न कत्ति पनि कन्जुस्याइँ गर्नु पर्ने अवस्था भने छैन । अझ उदाहरणका लागि हेर्ने हो भने हाम्रो देशका राष्ट्रपति नै महिला छन् । यहाँ बाट नि प्रस्ट हुन्छ कि महिलाले पनि मौका पाए भने घरमात्रै होइन देश पनि चलाउन सक्छन् । 

पर्वतमा पनि महिलाहरू चुलो चौकोमा मात्रै सीमित छैनन्, आम्दानी गरेर परिवार पनि पाल्न सक्छन् भन्ने उदाहरण मोदी गाउँपालिकाले दिएको छ । मोदी गाउँपालिकाले महिला लक्षित कार्यक्रमहरू ल्याएर साँच्चिकै अवस्था नै परिवर्तन गर्न सहयोग गरेको स्थानीय महिलाहरूको भनाई छ । यो गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र पातिचौर हो  । 

यहाँ व्यवसाय र रोजगारीको अवसर खोज्न आउने देखि आफ्ना बालबच्चालाई निजी विद्यालय पढाउन गाउँ बाट बजार झर्नेहरूको सङ्ख्या पनि अधिक छ । हिजो सम्म उनीहरू मध्ये धेरै जनाको जीविकोपार्जन गर्ने आधार रक्सी पारेर बेच्नु थियो । तर, मोदी गाउँपालिकाले ढाका उद्यमतर्फ यहाँको महिलाहरूलाई आकर्षित गराएपछि भने उनीहरूको दिनचर्या तानमै बित्ने गरेको छ । 

पहिला धेरै दुख थियो, घरबाट बाहिर निस्कन समेत गाह्रो थियो हामीलाई आफ्नो कथा व्यथा सुनाउँदै तानमा नै ढाका बाट टोपी, ब्लाउजको कपडा र पछ्यौरी लगायत धेरै प्रकारका बस्तुहरू बनाउने कल्पना नेपाली भन्छिन्, ‘पहिला श्रीमानको कमाइको आस गर्नु पर्ने अवस्था थियो अहिले आफै १५ देखी २० हजार सम्म महिनाको कमाइ गर्छु ।’

त्यति मात्रै होइन कहीँ कतै ढाका उद्यम सम्बन्धी तालिमको आयोजना भयो भने प्रशिक्षकको रुपमा समेत जाने गरेको नेपालीको भनाई छ । अहिले पातिचौरलाई ढाकागाउँ भनेर पनि चिन्न थालिएको छ । उद्यमी महिलाहरूलाई सजिलोका लागि पातिचौर बजारमा साझा सुविधा केन्द्र पनि स्थापना गरिएको छ । यस केन्द्रमा ३० जनाको समूहले तानमा ढाकाका विभिन्न कपडाहरू बुन्दै आएका छन् । 

त्यस्तै आफ्नै घरमा व्यक्तिगत तान राखेर काम गर्नेहरू १५ जनाको सङ्ख्यामा छन् । सामान्य घर खर्च चलाउन पनि श्रीमानको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गराइदिएकोमा गाउँपालिकालाई धन्यवाद दिँदै अर्की उद्यमी महिला सम्पदा पुन भन्छिन् , ‘धेरै समय सिक्न लाग्यो सुरुसुरुमा त सकिन्न की जस्तो पनि भयो तर अहिले यसबाट नै घर खर्च चलेको छ । ’ श्रीमानको आम्दानी अचेल देख्न पनि पाइएको छैन तर आफूहरूले कमाएको पैसाले आफ्ना आवश्यकता र बालबच्चाको समेत पढाई खर्च पुगेको यहाँका अधिकांश महिलाको भनाई छ ।

हातैले बुनेको, कलात्मक र आकर्षक बुट्टाहरू राखिएका कारण यहाँको ढाका हस्तकलाको रुपमा समेत लोकप्रिय छ । बिक्री गर्न समस्या नहोस् भन्नका लागि गाउँपालिकाले कोसेली घर समेत सञ्चालनमा ल्याएको छ । तानमा हातैले बुन्नुपर्ने भएकाले गर्दा मिहिनेत धेरै हुने र अन्य कपडाको तुलनामा ढाका अलिक महँगो हुने उद्यमीहरू बताउँछन् । 

गरिब, विपन्न वर्गका लागि पालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेरै उद्यमीहरूलाई सघाउँदै आएको मोदी गाउँपालिकाकी उद्यम विकास संयोजक सीताकुमारी शर्माले जानकारी बताइन् । उनी भन्छिन्,‘केही गर्न चाहने र आर्थिक अवस्था न्यून रहेका महिलाहरूको लागी पालिकाले ८० प्रतिशतसम्म लगानी गरिदिएर उद्यमी बन्नका लागि प्रेरित समेत गरेको छ । ’

मोदी गाउँपालिका लघुउद्यम र होमस्टेका लागि परिचित छ । यहाँ ढाका मात्र नभएर अल्लो र उनी बाट बनाइएका कपडा, नेपाली हाते कागज, कृषि उपज, सिस्नुको धुलो लप्सीका परिकार लगायतको उत्पादनतर्फ पनि उद्यमीहरू सक्रिय छन् । उद्यम तर्फ केही गर्छु भन्ने मनसाय भएका महिला तथा विपन्न वर्गका नागरिकलाई कुनै न कुनै पेशामा आकर्षण गरेर रोजगारीको सिर्जन गर्ने सायद नेपालमा नै पहिलो गाउँपालिका हुन सक्ने समेत संयोजक शर्माको दाबी छ । ढाका उद्यम सम्बन्धी तालिम लिएका महिलाहरूको प्रत्येकका घरमा तान राखेर घरमा बचेको समयमा तानमा बसेर आयआर्जन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button