तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका कुन पालिकामा कति मतदाता थपिए ? (सूची सहित)

तनहुँ । तनहुँमा यस पटक अघिल्लो निर्वाचनको तुलनामा ४९ हजार ८६९ जना मतदाता थप भएका छन् । जसमध्ये सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा गत चुनावको तुलनामा ८ हजार ९५३ जना मतदाता नयाँ थप भएका छन् ।

निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याँकअनुसार मतदाताको सङ्ख्या शुक्लागण्डकी नगरपालिकामा मात्रै ३८ हजार ३१५ जना पुगेका छन् । २०७४ सालको निर्वाचनमा शुक्लागण्डकीमा मतदाताको सङ्ख्या २९ हजार ३६२ जना थियो । 

नयाँ मतदाताको सङ्ख्या थप भएसँगै राजनीतिक जोड घटाउमा पनि पुनः परिभाषित गर्नुपर्ने देखिन्छ । नयाँ मतदाताको रुझानले यस पटकको चुनावी परिणाममा अदल बदल गर्न सक्ने पर्याप्त सङ्ख्या देखिएको छ ।

निर्वाचन आयोगले आगामी २०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको सार्वजनिक गरेको छ । तनहुँमा दुई लाख ४४ हजार ३४० जना मतदाताको नामावली सार्वजनिक भएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् । एक लाख चार हजार ३२७ महिला र ९० हजार १४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

तथ्याँकअनुसार तनहुँको आँबुखैरेनी गाउँपालिकामा विगतको भन्दा २ हजार ७२९ जना थप भई मतदाताको सङ्ख्या १३ हजार ६३१ पुगेको छ । यस्तै ऋषिङ गाउँपालिकामा ३ हजार ६३२ जना थप भई मतदाताको सङ्ख्या १८ हजार २३८ जना पुगेका छन् । 

आयोगले दिएको तथ्याँकअनुसार घिरिङ गाउँपालिकामा २ हजार ५३७ जना थप भई मतदाताको सङ्ख्या १४ हजार ६७६ जना पुगेको छ । देवघाट गाउँपालिकामा २ हजार ५३० जना थप भई मतदाताको सङ्ख्या १२ हजार ८१५ जना पुगेको छ । 

यस्तै बन्दीपुर गाउँपालिकामा ३ हजार ७०६ जना थप भई मतदाताको सङ्ख्या १५ हजार ६३८ जना र म्याग्दे गाउँपालिकामा ३ हजार ७६४ जना नयाँ मतदाता थप भई १८ हजार १०५ जना पुगेका छन् ।

यसैगरी भानु नगरपालिकामा ८ हजार ९ जना थप भई मतदाताको सङ्ख्या ४० हजार ४९६ जना पुगेको छ । त्यस्तै भिमाद नगरपालिकामा ५ हजार ३८४ जना मतदाता थप भई अहिले २४ हजार ८८४ जना पुगेको छ ।

यस्तै व्यास नगरपालिकामा ८ हजार ६२५ जना मतदाता नयाँ थप भएका छन् । व्यास नगरपालिकामा मात्रै ४७ हजार ५४२ जना पुगेका छन् । २०७४ सालको निर्वाचनमा व्यासमा मतदाताको सङ्ख्या ३८ हजार ९१७ थियो ।

तनहुँमा २९७ मतदान केन्द्र
मतदाता बढेसँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या पनि थप गरिएको छ । यसपालि जिल्लाका १० स्थानीय तहमा २९७ मतदान केन्द्र हुनेछन् ।

मतदान स्थलको सङ्ख्या भने घटबढ भएको छैन । अघिल्लो निर्वाचनमा १३६ मतदान स्थल र २५२ मतदान केन्द्र थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button