तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाको अखुवामा ३ दिने गाँजा मेला

धनकुटा । प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा आइतबार देखि ३ दिने पहिलो गाँजा सचेतना मेला शुरु भएको छ ।

भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं.२ को अखुवा टारमा उक्त मेला भइरहेको छ । मेलामा नेपालका विभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् ।

कार्यक्रमको उद्घाटन गाँजा वैधानिक अभियन्ता संस्थाका केन्द्रिय सल्लाहाकार राजीव काफ्ले तथा स्थानीय पालिकाका प्रमुखहरूले गाँजाको बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

हाल संयुक्त राष्ट्र सङ्घले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि वैधानिक दिनुपर्ने अभियान्ताहरुले माग गरेका छन् । विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा ८ लाख र युरोपमा २५ लाख सम्म रहेकोले नेपालको लागि गाँजा प्रमुख आयस्रोत हुने अभियान्ताहरुको दाबी छ ।

गाँजाबाट सयौँ औषधी र मानव उपयोगी बस्तुहरू बनाउन प्रयोग हुने भएकाले यसलाई वैधानिकता दिएर किसानहरूको प्रमुख आयस्रोत बनाउन सके देश आर्थिक रुपमा समृद्ध हुने उनीहरूको भनाई छ ।

कार्यक्रममा विश्व हिन्दु महासङ्घका अध्यक्ष ऋषिकेशजंग शाह,गाँजा वैधानिक अभियन्ता जोसेफ मदन कोइराला,सहिदभूमी गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष मनोज राई लगायत स्थानीय कृषकहरूका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए ।

तीन दिनसम्म चल्ने उक्त मेलामा गाँजा सम्बन्धी विभिन्न कपडाका स्टल तथा उत्पादन, सांस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरू गरिने आयोजक समितिका सदस्य सचिव नरेन्द्र राई (कश्चित) ले जानकारी दिनुभयो ।

नेपाल सरकारले गाँजालाई लागु औषधका रुपमा राखेकाले धनकुटाको छिन्ताङ्ग क्षेत्रबाट मात्र हरेक बर्ष ३० जनाभन्दा बढी व्यक्तिहरू गाँजाको विषयमा पक्राउ पर्ने गरेको आयोजक समितिका अध्यक्ष तीर्थ राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button