तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनका सबै दल समेटेर कांग्रेस चुनावमा जान्छ : गृहमन्त्री खाँण

वीरगंज । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन भित्र रहेका सबै दललाई समेटेर नेपाली कांग्रेस निर्वाचनमा एक साथ अगाडि बढ्ने बताउनु भएको छ । 

बारा जिल्लाको सिम्रौनगढमा आज आयोजित वृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले गठबन्धन भित्र रहेका सबै दललाई सम्मान गरी सबैलाई मिलाएर हिँड्ने जिम्मा नेपाली काँग्रेसको काँधमा आएको बताउनु भयो ।  

उहाँले गाउँ, शहर, बस्ती टोल–टोलमा गठबन्धनका दललाई पनि मिलाएर अगाडि बढ्न काँग्रेसका कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

गृहमन्त्री खाँणले नेपालको मालिक नेपाली जनता भएको हुँदा लोकतान्त्रिक पद्धति अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सरकारले शान्ति पूर्ण रुपमा निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न गर्ने बताउनुभयो ।

उहाँले तराई मधेसमा विद्यमान नागरिकता समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउँदै नेपालको इतिहासमै पहिलो पटक प्रहरीको मनोबल बढाउन अधिकृत देखि जवान सम्मका २० हजार प्रहरीको एक साथ बढुवा गरिएको दाबी गर्नु भयो ।

गृहमन्त्री खाँणले राष्ट्रिय सेवक कर्मचारीको मनोबल बढाउन सरकारले धेरै काम गरेको दाबी गर्दै आगामी निर्वाचनमा प्रहरी प्रशासनले जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले सिम्रौनगढ धार्मिक ऐतिहासिक स्थल भएको हुँदा यसको विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको कुरामा जोड दिँदै आजको पार्टी प्रवेश कार्यक्रमले काँग्रेसलाई थप ऊर्जा प्राप्त भएको र कांग्रेस बलियो भएमा देशमा समृद्धि र लोकतन्त्रको रक्षा हुने दाबी गर्नु भयो ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजय शङ्कर यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरी, नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्लाह मन्सुर, नेपाली कांग्रेस  बाराका सभापति राजेश्वर राय यादव, राधेचन्द्र यादव, रामअयोध्या प्रसाद यादव लगायतको उपस्थिति थियो । 

कार्यक्रममा सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख एवं जसपाकी महिला नेतृ रिमा कुश्वाहा, लोसपाका केन्द्रिय सदस्य महेन्द्र प्रसाद यादव सहित नेकपा एमाले, माओवादी केन्द्र, जसपा र लोसपाबाट निर्वाचित ४ जना वडा अध्यक्ष सहित सयौँ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशीलाई गृहमन्त्री खाँणले फुलमाला, दोसल्ला ओढाएर स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button