१२ लाख लगानी गरेर गाउँमै कुखुरा पालन

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ निवासी गोरक भट्टले भण्डारीवाडा गाउँमा व्यक्तिगत १२ लाखको लगानी गरेर गाउँमै कुखुरा पालन व्यवसाय सञ्चालन गरेका छन् । भट्टले कवि एण्ड निखिल पशुपक्षी पालन उद्योग स्थापना गरेरै गाउँमा व्यवसाय थालेका हुन् ।
गाउँमै उद्यमशीलता गर्ने लक्ष्यका साथ कुखुरा बस्ने घर, घेराबार र चल्ला खरिद लगायतको व्यवस्थापनमा १२ लाख लगानी गरेर कुखुरा पालन शुरु गरेका हुन् । व्यवसायबाट लगानी अनुसारको आम्दानी राम्रै भइरहेको उहाँको भनाई छ
कुखुराका चल्ला सँगै अण्डा पनि विक्री गर्ने गरेको छु । उहाँले भन्नुभयो,“उत्पादित सबै चल्ला तथा अण्डा बजारमा विक्री गर्न मुस्किल भएको छ । व्यवसाय गरेर पनि राम्रो बजार अभाव छ । गएको फागुन २८ गते फर्मबाट ३३ वटा भाले समेत चोरी भएर घाटा लागे पनि व्यवसायलाई निरन्तरता दिएको छु । लगानी थप्दै छु । गाउँमै उद्यमशीलता गर्ने आँट छ ।”

कुखुरा पालन व्यवस्थित बनाउनको लागि एक जना भेटनेरि पढेको हुनुपर्ने, कुखुराको दानापानी बारे ज्ञान भएको व्यक्ति आवश्यक रहेकोले खोजीमा रहेको उहाँको भनाई छ । यद्यपि अहिले आफूले जाने अनुसारको व्यवसाय गरिरहेको उल्लेख गर्नुभयो ।
दुई विगाह जमिनमा घेराबार गरेर कुखुराको लागि घर बनाइएको छ । कुखुराको अण्डा फाटफुटमा एक दानाको २०, र होलसेलमा १५ मा बेच्ने गरेको र भाले दुई हजार देखि तीन हजार सम्म बेच्ने गरिएको छ । भने, पोथी कुखुरा ८०० सय देखि १५०० सय सम्म गरेर बेच्ने गरेका छन् ।
हाल फर्ममा झण्डै ४ सय २० वटा कुखुरा रहेका छन् । आफ्नै लगानीले गाउँमै केही उद्यमशीलता गरेमा पक्कै पनि आम्दानी सँगै रोजगारी सृजना हुने भट्टले गतिलो सन्देश दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्