तपाईँ सुन्दै हुनुहुन्छः

अछाम जिल्लामा सत्ता साझेदार ३ दलकाे चुनावी गठबन्धन हुने

अछाम।अछाम जिल्लामा पनि सत्ता साझेदार दलले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।

जिल्लामा क्रियाशील ३ वटा दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तह तथा ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको नेकपा समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराईले जानकारी दिनुभयो ।

सदरमुकाम मङ्गलसेनमा बैठक बसी कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउँद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले निकालेको संयुक्त विज्ञप्तिमा गठबन्धन गरी अघि बढ्ने उल्लेख गरिएको छ ।

केन्द्रिय गठबन्धनलाई आत्मसात् गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडाहरूमा गठबन्धन अघि बढाउन हामी ऐक्यबद्ध रहेको विज्ञप्ति जारी गरिएको छ ।

केन्द्रको निर्देशन तथा सहमति अनुसार स्थानीय तहमा तालमेल गर्न सहमति भएको कांग्रेस अछामका सभापति शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button