६५ औँ राष्ट्रिय सहकारी दिवसमा प्रभातफेरी

बारा । ६५ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बारामा प्रभातफेरीसहित विशेष कार्यक्रम गरी मनाइएको छ ।
सदरमुकाम कलैयास्थित जिल्ला सहकारी सङ्घ बाराको कार्यालय परिसरबाट सुरु भएको प्रभात फेरी कलैया बजार हुँदै होटल दरबार इन बरेवा पुगेर सभामा परिणाम भएको थियो ।
प्रभातफेरीमा सहकारीकर्मीहरुले सहकारी दिवस सफल पारौँ । सहकारीलाई उत्पादनमा लगाऊँ । मदिरा मुक्त समाज निर्माण गरौँ । दाइजो मुक्त समाज निर्माण गरौँ, भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रभातफेरीमा पछि गरिएको विशेष सभाको मधेस प्रदेशका प्रदेशसभा सदस्य पारस साहले उद्घाटन गर्नुभयो ।
विशेष सभा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रदेशसभा सदस्य साहले युवा विदेश पलायन रोक्न सहकारीको योगदान रहेको बताउनुभयो ।
उहाँले सहकारी तथा ठुला बैङ्क वित्तीय संस्थाहरू किसान मैत्री भने नभएको बताउनुभयो । उहाँले किसानलाई कृषि पेसामा प्रेरित गर्न सरल ढङ्गले कृषि कर्जा पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यालय बाराका प्रमुख हेमचन्द्र जैसवाल, उद्योग वाणिज्य सङ्घ बाराका महासचिव रामाशिष साह, पशु तथा भेटनरी विज्ञ केन्द्र कलैयाका वरिष्ठ पशु विकास अधिकृत शङ्कर साह, कृषि ज्ञान केन्द्र बाराका अधिकृत राजनारायण साह, राष्ट्रिय सहकारी बैङ्क शाखा कलैयाका प्रमुख श्याम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्