तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्यु टावर होइन खानेपानी, विद्यालय र अस्पताल बनाउनुपर्छ’

तनहुँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले जनप्रतिनिधिले डाँडामा भ्यु टावर नभई खानेपानी, विद्यालय र अस्पताल बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार बन्दीपुर गाउँपालिका–२ सिमलटार स्थित सिमलटार खानेपानी आयोजनाको उद्घाटन गर्दै नेता कोइरालाले आगामी दिनमा हामी भ्यु टावर बनाउँदैनौ भनेर प्रतिज्ञा गर्न आग्रह गर्नुभयो ।

नेपाली समाज अहिले पनि डोकोमा पानी भरेर घरमा पुर्‍याउने अवस्थामा हुनु विडम्बना भएको र यसले देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने कुरा सोचेर फजुल खर्च गर्न नहुने कोइरालाको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशको विकास गर्ने र विकासको नीति निर्माण गर्ने पार्टी नेपाली कांग्रेस भएको उल्लेख गर्दै देशको आम्दानी कम भएकोले अन्तर्राष्ट्रिय सहयोग जुटाउने र वैदेशिक रोजगारीको ढोका खोल्ने काम पनि काँग्रेसले नै गरेको बताउनुभयो ।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, नेपाली कांग्रेस बन्दीपुरका सभापति कर्णबहादुर खत्री, काँग्रेसका जिल्ला नेता प्रेमबहादुर बानियाँ लगायतले विकास आग्रह, पूर्वाग्रहका आधारमा नगरी आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिनुभएको थियो ।

स्थानीय बासिन्दाको जनश्रमदान ३३ प्रतिशत र बाँकी सङ्घीय सरकारको गरी एक करोड ५० लाख रुपियाँको लागतमा गिदेरी खोलाको पानी तानेर घरघरै धारा वितरण गरिएको सिमलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । गाउँमा ८५ वटा धारा वितरण गरिएको र २४ सै घण्टा पानी आउने उहाँले जानकारी दिनुभयो ।

स्थानीय उजेली आचार्यले बिहान झिसमिसेमै पानी लिन जानुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा खानेपानीको बजेट विनियोजन गर्न पहल गर्नुहुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, योजनाको लागि सहयोग गर्नुहुने खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर बामदेव पौडेल र प्राविधिक टेकबहादुर थापा, जग्गादाता तुलबहादुर बिक, टेकबहादुर कुँवर, नन्दलाल भट्ट र दिव्य ज्योति निर्माण सेवाका दीपेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button